Thursday, November 16, 2017

के के गर्दै छन् पोखराका उम्मेद्वारले ?

कात्तिक ३०, पोखरा । निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । 
तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् । स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् ।
काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आज पोखरा–लेखनाथ महानगरपालिका– ३१ मा घरदैलो गर्नुभएको छ । उक्त वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताउनुभयो । 
जनताका आवश्यकताअनुरुप आफूले विकास निर्माणका योजना अघि बढाउने उहााको भनाइ छ । उहाँले यस
क्षेत्रका गाउँपालिकाका साथै महानगर घोषणा भएर पनि विकासका दृष्टिले ओझेलमा परेका वडाको समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।
नेकपा (एमाले)का नेता एवम् कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा–लेखनाथ महानगरपालिका–२१ मा आज घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा उहाँले सम्भावना भएर पनि विकासका दृष्टिले ओझेलमा परेका बस्तीको विकासका माध्यमबाट जनताको जीवनस्तर उचो बनाउने बताउनुभयो । 
नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (क)का उम्मेदवार हेमबहादुर थापा (किरण) र समानुपातिक उम्मेदवार चेतबहादुर महतले पोखरालेखनाथ महानगरपालिका–३३ चवादीमा आज घरदैलो गर्नुभएको छ ।
कृषि तथा जलस्रोतको धेरै सम्भावना भएर पुल तथा बोटाघाटोका अभावले चवादी ओझेलमा परेको भन्दै थापाले यी सबै विकासका सम्भावनालाई उजागर गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो । 
विभिन्न नयाँ कार्यक्रमका साथ कास्कीका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको विवेकशील साझा पाटीले गाउँ, बस्ती र टोलमा प्रचारात्मक कार्यक्रमलाई अघि बढाएको उक्त पार्टीका निर्वाचन परिचालन समिति सदस्य राम गुरुङले बताउनुभयो ।
अबका केही दिन पर्चा तथा कार्यकर्ता परिचालनका माध्यमबाट पार्टीले लिएका उद्देश्य र घोषणापत्र सम्बन्धमा जनतालाई सुसूचित गराइने जानकारी दिँदै उहाँले केही दिनपछि मात्र उम्मेदवारसहित घरदैलो गरिने बताउनुभयो ।


Share This

0 comments: